
नेपाली आँगनमा दशैंको चहलपहल सुरूको भएको छ। गाउँ–शहर सबै तिर एक ठाउँ बाट अर्को ठाउँ आउने जाने क्रम बढिरहेको छ। बजारमा बिस्तारै मानिसहरूको भीडभाड बढिरहेको छ, घर–घरमा सरसफाइ, रङरोगन र नयाँ लुगा अनि किनमेलेबारे घरपरिवारमा छलफल सरू भएको छ।

आउँदो सोमबार घटस्थापना हो, जससँगै दशैं औपचारिक रूपमा सुरु हुनेछ। हरियो जमरा रोपिने परम्परा पनि त्यही दिन सुरु हुन्छ, जसले चाडपर्वलाई थप उत्साह र गहिरो बनाउँछ। दशैं केवल चाड पर्व मात्र होइन—यो भेटघाट, आत्मीयता र एकताको पर्व पनि हो। दाजुभाइ, दिदीबहिनी, आमा–बुबा र नातेदारबीचको सम्बन्धलाई प्रगाढ बनाउने अवसर हो। गाउँतिर साथी–संगीहरू पढाइका सिलसिलामा सहर गएका फर्केर दशैंमा के गर्ने भन्ने विषयमा छलफल गरिरहेका होलान्, तर आफु परदेशमा दिन गन्दै बस्दा त्यो आनन्दको कमी निकै महसुस हुन्छ।
तर, यस उत्सवको भित्र गहिरो पीडाको छायाँ पनि छ। जेनजी आन्दोलनको क्रममा कैयौँ घरमा बज्रपात परेको छ। दशैंको खुशी आउँदा पनि कैयौँ आमाहरूको आँसु अझै पनि उस्तै छ । परदेशी भूमिबाट सम्झिँदा मन भकानिन्छ। साथीहरूसँग सामाजिक सञ्जालमा कुरा हुँदा नेपालको अवस्थाबारे सुन्दा मन खिन्न हुन्छ।


कहिलेकाहीँ आफ्नै निर्णय प्रति असन्तुष्टी भएको महसुस हुन्छ। भोट दिँदा सच्चा, इमान्दार र निष्ठावान व्यक्ति नचुनेकोमा पश्चात्ताप पनि हुन्छ। अहिले आएर मेरो आँखा खुलेको जस्तो लाग्छ। युवाहरूको आक्रोश, देशले भोगेको पीडा र बलिदान खेर जाने हो कि भन्ने पनि कता कता चिन्ता बढेर आउँछ। देशको लागि आहुती दिएका ती जेनजी पुस्ताका युवाहरूलाई सम्झिँदा आँसु रोक्न गाह्रो हुन्छ। तर नेताहरू अझै भन्छन् यो भन्दा ठूलो पार्टी कार्यालय बनाउँछु “हामीबाट गल्ती भयो होला , अब जनताको मागअनुसार हामी अघि बढ्छौं” भन्ने आत्मालोचना त कहिल्यै सुनिँदैन।
देश हामी सबैको हो। यसलाई बनाउन हरेक नागरिकको हात चाहिन्छ। राजनीति केवल सत्तासुखका लागि मात्र होइन, जनताको पसिना र रगतको मूल्य बुझेर, उनीहरूको आवाजलाई सुनेर आत्मसाथ गरेर अघि बढ्नु पर्छ। समाजमा फैलिएको आक्रोश र घृणाले हाम्रो राष्ट्रलाई टुक्र्याइरहेको छ। मानवता हराउँदै जाँदा माया, ममता, सहानुभूति, सहयोग र सहकार्य मान्छेले बिर्सिन थालेको देख्दा झन् दुःख लाग्छ।
अब ढिलाइ गर्ने समय हामी सँग छैन। सकारात्मकतालाई प्रोत्साहन गर्नुपर्छ, नकारात्मकतालाई उखाल्नुपर्छ। गहिरो अध्ययन र समाजको आवश्यकता बुझ्ने नेतृत्व चाहिन्छ। देशलाई नयाँ बाटोमा अघि बढाउन युवाशक्ति नै प्रमुख आधार हो। यही स्वीकारेर सबै मिलेर अघि बढ्दा मात्र दशैंको वास्तविक खुशी, राष्ट्रिय एकता र समृद्ध नेपालको सपना साकार हुनेछ।





























