
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट असोज १४ गते (सेप्टेम्बर ३०, २०२५) प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थ र एल.पी. ग्यासमा वृद्धि भए पनि खुद्रा बिक्री मूल्य स्थिर राखेको जनाएको छ। निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ०.२४, डिजेलमा रु. २.३५, मट्टितेलमा रु. २.३९, हवाई इन्धनमा रु. ३.३९ र एल.पी. ग्यासमा प्रति सिलिन्डर रु. ३.६० ले वृद्धि भएको छ।

आसन्न चाडपर्वलाई ध्यानमा राख्दै उपभोक्तामाथि मूल्यवृद्धिको अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले हाल कायम रहेको खुद्रा मूल्यलाई यथावत राखिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्ग क्षेत्रमा प्रतिलिटर रु. १५८.५०, दोस्रो वर्गमा रु. १६० र तेस्रो वर्गमा रु. १६१ कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य क्रमशः रु. १४२.५०, रु. १४४ र रु. १४५ निर्धारण गरिएको छ।


आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर रु. १२७ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलो लिटर मूल्य अमेरिकी डलर ९६६, ७७२ र ७५९ तोकिएको छ। एल.पी. ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर रु. १९१० निर्धारण गरिएको निगमले जनाएको छ।
निगमले सहज, शुद्ध र पारदर्शी आपूर्तिमा निरन्तर प्रतिबद्धता जनाउँदै देशभर इन्धनको आपूर्ति नियमित हुने विश्वास दिलाएको छ।

















