२०८१ असोज २० गते तोलाको एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको सुन अहिले दुई लाख ३३ हजार एक सय रूपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। एक वर्षको अवधिमा सुन तोलामा ७२ हजार एक सय रूपैयाँले बढेको हो।
दसैं सकिएलगत्तै दुई दिनमै सुन १० हजार रूपैयाँले महँगो भएको छ। नेपाली बजारमा सन् २०७८ फागुनमा पहिलोपटक तोलाको एक लाख नाघेको सुन अहिले साढे तीन वर्षमै दोब्बरभन्दा बढी मूल्यमा पुगेको हो।


सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजार प्रमुख आधार मानिन्छ। हाल विश्व बजारमा सुन प्रति औंस ३९३५ डलरमा कारोबार भइरहेको छ। अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर घटाउने नीति लिँदै २०२५ सम्म दर ३.५० देखि ३.७५ प्रतिशतमा सीमित गर्ने बताएको छ। यसले डलर कमजोर हुने सम्भावना बढाएपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन्।
त्यसैगरी, अन्तर्राष्ट्रिय व्यापार विवाद, सशस्त्र द्वन्द्व र केन्द्रीय बैंकहरूको सुन भण्डारण प्रवृत्तिले समेत सुनको मूल्यमा वृद्धि गरिरहेको छ। विश्लेषकहरूले सन् २०२५ अन्त्यसम्म सुनको मूल्य प्रति औंस चार हजार डलर नाघ्ने अनुमान गरेका छन्। नेपालमा सुनलाई सुरक्षित धनको प्रतीकका रूपमा हेरिन्छ।