
धनगढीस्थित केन्द्रीय कार्यालय र अत्तरियास्थित शाखा कार्यालयमार्फत सञ्चालित सामाजिक संस्था दृष्टि फाउन्डेसन ले समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरेको छ। शुभदिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान समारोहमा लोकराज पाण्डेय ‘आगो’ लाई संस्थाको संरक्षक/अभिभावकका रूपमा सम्मान गरिएको हो। सोही कार्यक्रममा अमेरिकामा रहँदै आएका समाजसेवी राम बा देउवा लाई समेत संरक्षण अभिभावकका रूपमा सम्मान प्रदान गरिएको छ।

कार्यक्रम संस्थाकी अध्यक्ष कल्पना भट्टको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रदेश सांसद धर्मराजा पाठक प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पूर्वनगर प्रमुख निर्प ओड, जिल्ला समन्वय समिति सदस्य टिका भूल चौधरी, उद्योग वाणिज्य संघ धनगढीका अध्यक्ष पुष्कर ओझा, पत्रकार महासंघका अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति थियो।
धनगढीको सुप क्षेत्रमा रहेको दृष्टि फाउन्डेसनमा हाल ९० जना भन्दा बढी आश्रित व्यक्तिहरू बसोबास गर्दै आएका छन्। बेघर र असहाय नागरिकका लागि “बेघरको घर” बनेको यो संस्था समाजसेवामा प्रेरणादायी उदाहरण बनेको छ। कार्यक्रमको सञ्चालन पत्रकार टेकेन्द्र देउवाले गर्नुभएको थियो।



























