
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिचपुरी टोलका विपिन जोशीको आज महाकाली नदी किनारस्थित आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। दुई वर्षअघि प्यालेस्टिनी समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव सोमबार मात्रै नेपाल ल्याइिएको हो।

उनको शव सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा ल्याइएपछि धनगढी उपमहानगरपालिकाको शववाहनमा घर पुर्याइएको थियो। घर पुगेपछि विपिनका परिवारजन, स्थानीय र नातागोता सबै शोकमा डुबेका थिए। नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई बास पनि परिवारलाई सान्त्वना दिन बिचपुरी पुगेका थिए।
इजरायलको ‘नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ का अनुसार विपिनको मृत्यु टाउकोमा गोली लागेर भएको हो। तर मृत्युको समय स्पष्ट उल्लेख गरिएको छैन।


इजरायल र हमासले विपिनको मृत्युका लागि एक–अर्कामाथि आरोप लगाएका छन्। हमासका अनुसार इजरायली हवाई आक्रमणमा उनी मारिएका हुन्, जबकि इजरायलले हमासकै गोलीबाट मृत्यु भएको बताएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए, जसमा विपिन पनि सहभागी थिए।































