सुदूरपश्चिम प्रदेशसभा भवन क्षतिपछि बैठक अनिश्चित !

Image
Nisarga Hospital

गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी र क्षति भएपछि प्रदेशसभा बैठक सञ्चालनमा रोकिएको छ। क्षतिग्रस्त भवन र अन्य संरचनाको मर्मत तथा व्यवस्थापन अझै सुरु भएको छैन। प्रदेशसभा सचिवालयका अनुसार, बैठक सञ्चालन गर्न वैकल्पिक व्यवस्था नभएकाले बैठक अनिश्चित बनेको हो।

CP Hospital Dhangadhi

सभामुख भीमबहादुर भण्डारीले टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएकाले मर्मत र आवश्यक सामग्री व्यवस्थापनपछि मात्रै बैठकको वातावरण तयार हुने बताएका छन्। प्रदर्शनका क्रममा सचिवालय, विषयगत समिति कार्यालय र प्रतिनिधित्व गर्ने दलका कार्यालयमा समेत आगजनी भएको थियो। यसबाट प्रदेशसभाका छ वटा चारपाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल नष्ट भई करिब रु १२ करोडको भौतिक क्षति भएको छ।

सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनमा स्रोतको समस्या रहेको जानकारी दिए। केवल बैठक कक्षको मर्मत र आवश्यक सामग्रीमा कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। गत भदौ ५ मा अन्तिम बैठक बसेको थियो। हाल चारवटा विधेयक विचाराधीन छन् र प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन।