
डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धानमा उनले समितिको बैठक माइन्युटिङ नक्कली बनाइ सचिव र कोषाध्यक्षको जानकारीबिना किर्ते हस्ताक्षर गरेर १८ लाख १५ हजार रुपैयाँ निकालेको प्रमाण भेटिएको हो।

मडैले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म ७ वटा चेकमार्फत रकम विभिन्न बैंक शाखाबाट आफ्नै नाममा निकालेका थिए। समितिले केही मात्र फिर्ता पाएको थियो। फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालयको प्रतिवेदनले मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरेको पुष्टि गरेको छ।

अख्तियारले उनकाे कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर ठहर गर्दै विशेष अदालत काठमाडौंमा कैद र जरिवानाको माग गर्दै आरोपपत्र दायर गरेको छ।

































