
अत्तरियाः प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले गोदावरी नगरपालिकालाई नयाँ ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरेको छ। केही दिनअघि जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनीले पूर्वाधार र उपकरणहरू पूर्ण रूपमा नष्ट हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको थियो।

नगर प्रमुख बिरेन्द्र भट्टको विशेष पहलमा करिब १६ लाख रुपैयाँ लागतको नयाँ ग्रामिण अल्ट्रा साउण्ड मेसिन पुनः स्थापना गरिएको हो। यस उपकरण हस्तान्तरणले नगर क्षेत्रका स्वास्थ्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री मेघराज खड्का सँगै प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रलाई धन्यवाद ज्ञापन गरेका छन ।
बिहीबार प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रका प्रमुख झनक ढुंगानाले उक्त मेसिन औपचारिक रूपमा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि बिर बहादुर कुंवरलाई हस्तान्तरण गरेका हुन।
आगजनीपछि अल्ट्रा साउण्ड मेसिन नहुँदा नगरका दुर्गम र बिकट बस्तीका गर्भवती महिलाहरूलाई अत्यधिक समस्या भइरहेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए। उनले भने, नगर प्रमुख ज्यूको सक्रिय प्रयासका कारण समयमै उपकरण प्राप्त भई अब गर्भवती महिलाहरूलाई निःशुल्क तथा सहज स्वास्थ्य सेवा दिन सकिने विश्वास व्यक्त गरे।
नगर प्रमुख बिरेन्द्र भट्टले ग्रामिण अल्ट्रा साउण्ड मेसिन प्राप्त भएसँगै अब स्वास्थ्य सेवा पहिले झै पुनः विस्तार हुने बताएका छन । उनका अनुसार नगरका सबै वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा मातृ स्वास्थ्य सेवा केन्द्रहरूमा गर्भवती महिलाले नजिकैबाट अल्ट्रा साउण्ड सेवा पाउनेछन्।
भट्टले भने, “हामीले आगजनी पछि जनताको आवश्यकता सँगै समाजसेवीको सहयोग बाट पुनः सेवा दिन सकेको बताएका छन । अब कुनै पनि गर्भवती महिलालाई सेवा लिन टाढा जान नपरोस् भन्ने हाम्रो लक्ष्य छ।”
यस हस्तान्तरणसँगै गोदावरी नगरपालिकामा स्वास्थ्य सेवा पुनर्जीवनको बाटो खुलेको स्थानीयहरूले बताएका छन्।



























