
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेखेकी छन्। पार्टीका संरक्षक तथा उनका श्रीमान रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने तयारी गरेपछि रञ्जिताले फेसबुकमार्फत आफ्नो मनको कुरा सार्वजनिक गरेकी हुन्।

उनले लेखेकी छन्, “मुटु, यो फोटो ठीक छ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मीयता कहिल्यै मेटिँदैन।” रञ्जिताको यो स्टाटसले रेशमसँगको सम्बन्धमा भावनात्मक तानातान झल्किएको छ।
बिहीबार रेशम चौधरीसहितका केही नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए। पछिल्लो एक वर्षदेखि रेशम र रञ्जिताबीच पार्टीभित्र मतभेद बढ्दै गएको थियो, जसका कारण अहिले नागरिक उन्मुक्ति पार्टी विभाजनको संघारमा पुगेको छ।
यसअघि जनमत पार्टीसँग एकता गर्ने प्रयास भए पनि आन्तरिक विवादका कारण सम्भव भएको थिएन। रेशम चौधरीकी पहिलो पत्नी रञ्जिता श्रेष्ठ र दोस्रो पत्नी आशा चौधरी हुन्। रेशमको नयाँ राजनीतिक यात्राले सुदूरपश्चिमको राजनीति फेरि एकपटक चर्चा र विवादको केन्द्रमा ल्याएको छ।



























