क्यान्सर उपचारमा प्रयोग हुने लौठसल्ला संरक्षणमा, बैतडीमा १३९ बोट वरिपरि तारबार

Image
Nisarga Hospital

बैतडीः क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामक रसायन निस्कने वनस्पति लौठसल्लाको संरक्षण अभियान सुरु गरिएको छ। बैतडीमा यो प्रजाति हराउँदै गएपछि वनस्पति विभाग र जिल्ला वन कार्यालयले १३९ बोट लौठसल्ला वरिपरि काँडेतारको बार लगाएर जोगाउने काम थालेका छन्।

CP Hospital Dhangadhi

विश्वमै महँगो औषधि बनाउन प्रयोग हुने ट्याक्सोल यही लौठसल्लाबाट निकालिन्छ। तर पछिल्ला वर्षमा डोजरले अव्यवस्थित रूपमा सडक बनाउँदा यसको आवास नष्ट हुँदै गएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्ट बताउँछन्। उनका अनुसार लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्ननलीको क्यान्सर उपचारमा प्रयोग हुने औषधि तयार हुन्छ।

बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वन क्षेत्रमा पाइने लौठसल्ला अत्यन्त मूल्यवान मानिन्छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन जोशीका अनुसार, स्थानीय तहले जथाभावी सडक निर्माण गर्दा जोखिम बढेपछि पुरचौडी नगरपालिका–६ ढोल्यामोडस्थित वसन्त हरियाली वनमा करिब चार हेक्टर क्षेत्रमा तारबार लगाइएको हो। त्यहाँ ८८ पोलमा काँडेतार तानेर ८० लाथ्रा र ५९ लौठसल्लाका बिरुवा जोगाइएका छन्।

वनस्पति अनुसन्धान केन्द्रका अनुसार सुदूरपश्चिमका सात पहाडी जिल्लामा लौठसल्ला फेला परेको छ। बैतडीको ग्वाल्लेक, सिगास, रौलाकेदार, ढोल्यामोडदेखि डोटीको खप्पड र बाजुराको शुर्मासरोवरसम्म यसको उपस्थिति पाइन्छ। भट्टका अनुसार नेपालमै तयार हुने १० डिएबी कच्चा पदार्थ विदेश पठाएर ट्याक्सोल उत्पादन गरिन्छ, जसबाट क्यान्सरविरुद्धको औषधि बनाइन्छ।