
सुदूरपश्चिमको बहुचर्चित र ऐतिहासिक पश्चिम सेती जलविद्युत् आयोजनाका लागि प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने भएको छ। ८०० मेगावाट क्षमताको यो आयोजना भारतीय कम्पनी नेशनल हाइड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले निर्माण गर्न लागेको हो। कम्पनीले वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को मस्यौदा तयार गर्न सार्वजनिक सुनुवाई आयोजना गर्न लागेको जनाएको छ।

एनएचपीसीले सार्वजनिक सूचना जारी गर्दै कार्तिक १८ देखि २४ गतेसम्म विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन हुने जनाएको छ। कार्तिक १८ गते बझाङको केदारस्युँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका–१ रेगममा, कार्तिक २० गते डोटीको सायल गाउँपालिका–१ धरमघर र बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडमा सुनुवाई हुनेछ। त्यस्तै कार्तिक २२ गते डोटीको शिखर नगरपालिका–१० बानेडुग्रीसैन र आदर्श गाउँपालिका–५ तलारासेरामा, कार्तिक २४ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ शिरोडमा कार्यक्रम हुने छ।
पश्चिम सेती आयोजना २०५४ सालमा अस्ट्रेलियाली स्मेक कम्पनीले सुरु गरे पनि काम अघि बढाउन नसकेपछि सम्झौता रद्द भएको थियो। पछि चीनको थ्री गर्जेज कम्पनीसँग सम्झौता भए पनि वित्तीय व्यवस्थापनमा समस्या आएकाले आयोजना रोकिएको थियो। अन्ततः २०७९ साउनमा एनएचपीसीसँग नयाँ सम्झौता भएको हो।
सार्वजनिक सुनुवाई सुरु भएसँगै स्थानीयहरूमा आयोजना अब कार्यान्वयनमा आउने र सुदूरपश्चिममा रोजगारी, विद्युत् आपूर्ति र विकासको नयाँ युग सुरु हुने अपेक्षा बढेको छ।



























