
सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूको साझा आवाजका रूपमा रहेका गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति र नेपाल नगरपालिका संघ प्रदेश कार्यसमितिले स्थानीय सेवा ऐन २०८१ र त्यससँग सम्बन्धित नियमावलीमा तत्काल संशोधन गर्न माग गरेका छन्। दुबै संघ-संगठनले मिति २०८२ कात्तिक १६ गते प्रदेश सरकारसमक्ष हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय तहको अधिकार, स्वायत्तता र कार्यक्षमता सुनिश्चित गर्न पाँच बुँदे माग अघि सारेका हुन्।


ध्यानाकर्षण पत्रमा ऐनको दफा १५ ले पालिकाको सञ्चालनमा कठिनाइ सिर्जना गरेको भन्दै तत्काल संशोधन आवश्यक रहेको उल्लेख छ। उनीहरूले स्वीकृत दरबन्दीअनुसार कार्यपालिकाको निर्णयबाट आवश्यक कर्मचारी करारमा नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने र त्यसको जानकारी प्रदेश सरकारलाई दिने कानुनी प्रक्रिया सुनिश्चित गर्न माग गरेका छन्।
त्यस्तै, स्थानीय सेवामा कार्यरत कर्मचारीको वृत्ति विकास, ज्येष्ठता, शैक्षिक योग्यता र करार प्रणालीका प्रावधानलाई ऐन र नियमावलीमा पुनरावलोकन गरी संशोधन गर्नुपर्ने सुझाव दिइएको छ। संघ र महासंघले भौगोलिक वर्गीकरण र करार कर्मचारीका उपदान सम्बन्धी प्रावधान संकुचित गरिएको भन्दै प्रदेश सरकारले स्वयम् कानुनी वर्गीकरण गर्ने व्यवस्था गर्नुपर्ने बताएको छ।

साथै, सामुदायिक वनबाट स्थानीय तहले पाउने लाभांश कटौती नगरी सहजीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरिएको छ। स्थानीय तहको दायित्व पूरा गर्न पर्याप्त जनशक्ति अभाव भएको र यसले सेवा प्रवाहमा असर पारेको भन्दै तत्काल व्यावहारिक समाधान खोज्न माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरूमा लोकेन्द्र बहादुर शाही, प्रदेश अध्यक्ष (गाउँपालिका राष्ट्रिय महासंघ, सुदूरपश्चिम) र बिरेन्द्र भट्ट, संयोजक (नेपाल नगरपालिका संघ, सुदूरपश्चिम) रहेका छन्।





























