कैलालीमा सात प्रतिशतले घट्यो धान उत्पादन, कञ्चनपुरमा वृद्धि

Image
CP Hospital Dhangadhi

अत्तरिया : यस वर्ष कैलालीमा धानको उत्पादन घटेको छ । गत वर्ष जिल्लामा २ लाख ४६ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर २ लाख २९हजार २सय ४५ मेट्रिक टन मात्रै उत्पादन भएको हो ।

यस बर्ष ५ देखि ७ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले बताए । उनले भने ‘पर्याप्त वर्षा नहुँदा समयमै रोपाई हुन सकेन, त्यसका कारण उत्पादनमा असर पुगेको छ । विद्युतको पावर अभावका कारण पम्पबाट पानी तानेर रोपाई गर्न सकिने अवस्था थिएन ।’

nawajiwan

धान रोपिसकेपछि किसानहरूले पर्याप्त मल नपाएका कारण पनि उत्पादन घटेको उनले बताए । उनले भने, ‘लामो समय खडेरी र दोस्रोपटक पनि मलको अभावले उत्पादनमा गिरावट आएको हो ।’ कैलालीमा ९३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ ।

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व शून्य दशमलव दुई प्रतिशतले बढेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादकत्वमा वृद्धि भएको बताए । उनले भने, उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो । यस वर्ष दुई लाख तीन हजार छ सय ८३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ९३ हजार ९८४ मेट्रिक टन उत्पादन भएको थियो ।’

कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिचाँइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिचाँइ जडानसमेत गर्ने गरेको सूचना अधिकारी साउदले बताए । गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा ७७६ साना सिचाँइ (ट्युवेल) जडान गरेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यसमध्ये ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हँुदै आएको छ ।

Attariya Hospital

हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८ सय हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ ।
समयमा नै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरू बताउँछन् । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका किसान सागर रानाले यस वर्ष धानखेतीको समयमा आकाशेपानी पर्दा धान उत्पादन राम्रो भएको बताए । उनले विगतका वर्षमा बोरिङबाट रोपाइँ गर्ने गरिएको भए पनि यस वर्ष आकाशेपानी समयमा आउँदा बोरिङको प्रयोग गर्नु नपरेको बताए । अर्का खुसी डगौराले आकाशेपानी र समयमै मलखाद उपलब्ध भएकाले धान उत्पादन वृद्धि भएको बताए ।

कैलालीमा खाद्य द्वारा एक हजार चार सय क्विन्टल धान खरिद
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा एक हजार चार सय नौ क्विन्टल धान खरिद गरेको छ ।
गत बुधबारबाट धान खरिद सुरु गरेकोे खाद्य कम्पनीले जिल्लाका विभिन्न धान खरिद केन्द्रबाट आइतबारसम्म उक्त धान खरिद गरेको हो ।

कार्यालय प्रमुख दीपक थापाका अनुसार खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगंगा, टीकापुर, सत्ती, भजनी र जोशीपुरमा खरिद केन्द्रबाट धान खरिद गरिरहेको छ ।

मोहनपुरबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले आइतबारबाट सबै खरिद केन्द्रबाट धान खरिद गरिरहेको उनले जानकारी दिए । जिल्लामा मोटा धान खरिद गरिहेको खाद्यले सरकारले निर्धारण गरेको न्युनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको उनले बताए । नेपाल सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ४६३.८१ निर्धारण गरेको छ ।

खाद्यले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको छ । खाद्य कम्पनीले धान खरिद सुरु गरेसँगै किसानलाई ठूलो राहत भएको छ । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य बाध्य भएका थिए ।