
बैतडीः सुदूरपश्चिम नेपालको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रतीकको रूपमा परिचित ‘सिगास धुरा धाम’ पछिल्ला वर्षमा तीव्र रूपमा धार्मिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ। भगवान शिवको आराधनास्थलका रूपमा प्रसिद्ध यो धाम समुद्री सतहबाट करिब २९०० मिटर उचाइमा अवस्थित छ, जसलाई बैतडीको सबैभन्दा उच्च धार्मिक मन्दिर मानिन्छ।

“’कुम्भको केदार ठूलो, शिरको सिगास ठूलो’” भन्ने जनप्रचलित भनाइले यसको धार्मिक महत्व स्पष्ट गर्छ। जनश्रुतिअनुसार भगवान शिव स्वयं कैलाशबाट सिगास धुरामा बास गर्न आएका थिए। वरपरका घना जंगलमा पाइने २५ भन्दा बढी औषधीय वनस्पतिले यसलाई प्राकृतिक दृष्टिले पनि समृद्ध बनाएको छ।
सिगास धुराबाट उत्तरतिर हिमालयका शृंखलाहरू, दक्षिणतिर तराईका समथर भू–भाग र पश्चिमतिर भारतको कुमाउ–नैनितालसम्मको दृश्यावलोकन गर्न सकिन्छ। यही स्थानबाट डडेलधुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिर पनि देखिन्छ भन्ने जनविश्वास छ।
हजारौँ श्रद्धालु असोज–कात्तिक शुक्ल पञ्चमीदेखि अष्टमीसम्म हुने मेला, चैत्राष्टमी र साउन महिनाको शिव आराधनाका अवसरमा सिगास धाम पुग्ने गर्छन्। निसन्तान, बाझोपन वा चर्मरोगजस्ता समस्याबाट मुक्ति पाउने विश्वासले भक्तजनहरू यहाँ आकर्षित हुने गरेका छन्।
सिगास गाउँपालिकाले धार्मिक, सांस्कृतिक र आर्थिक विकासलाई जोड दिँदै गुरुयोजना तयार गरी सडक, पदमार्ग, विश्रामगृह, ध्यान केन्द्र र सरसफाइ पूर्वाधार निर्माणको काम अघि बढाएको छ। अध्यक्ष हरि सिंह धामीका अनुसार, “सिगास धुरालाई सुदूरपश्चिमकै प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो।”
सिगास धुरा अब श्रद्धा, इतिहास र पहिचानको संगम बनेको छ। स्थानीय सरकारको योजनाले सफल कार्यान्वयन पाउने हो भने यो पवित्र भूमि सिंगो सुदूरपश्चिमको गौरवमय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने निश्चित देखिन्छ।



























