सुदूरपश्चिमलाई डिजिटल केन्द्र बनाउने उद्देश्यका साथ नेपाल चेम्बरको आइटी अभियान

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशलाई नेपालकै सूचना प्रविधि केन्द्र (आइटी हब) बनाउने उद्देश्यका साथ, टेक पाइला इनोभेसन्स र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले अभियान सुरु गरेका छन्। यस पहलले शिक्षा, रोजगारी र प्रविधि–आधारित विकासमार्फत प्रदेशलाई डिजिटल रूपान्तरणतर्फ अग्रसर बनाउने लक्ष्य राखेको छ।

CP Hospital Dhangadhi

नेपाल चेम्बर सुदूरपश्चिमका अध्यक्ष विनोद मल्ल–विप्लवका अनुसार, अभियानले युवालाई रोजगारीमुखी आइटी शिक्षा प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित कार्यक्रममार्फत सशक्त बनाउने उद्देश्य राखेको छ। कोडिङ, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ लगायतका अत्याधुनिक विषयहरू समावेश गरिएको यस कार्यक्रममा २०० भन्दा बढी विद्यालय र कलेजसँग साझेदारी गरी उनीहरूलाई नवीनतम सफ्टवेयर प्रणाली र NCC Education द्वारा प्रदान गरिएको पाठ्यक्रमसहित सशक्त बनाइनेछ।

अभियानले युवालाई घरमै बसेर भर्चुअल रोजगारी र अन्तर्राष्ट्रिय आइटी काम गर्ने अवसर प्रदान गर्नेछ। अध्यक्ष मल्लका अनुसार, “यो केवल शिक्षा कार्यक्रम होइन, आर्थिक रूपान्तरणको अभियान हो। युवाले विश्वस्तरीय सीप सिकेर घरमै काम गर्न सक्ने भएपछि रेमिटेन्स बढ्छ, आइटी रोजगारी विस्तार हुन्छ, र युवा देशमै बस्न सक्छन्।”

सुदूरपश्चिम आइटी हब परियोजना डिजिटल नेपाल अभियानसँग प्रत्यक्ष सम्बन्धित छ। यसले स्थानीय प्रतिभा र प्रविधि–आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै प्रदेशलाई टिकाउ, प्रविधि–केन्द्रित आर्थिक विकासको आदर्श प्रदेश बनाउने लक्ष्य राखेको छ।

यसैबीच धनगढी, अत्तरिया र महेन्द्रनगरमा आयोजित सेमिनार तथा छलफल कार्यक्रममा स्थानीय विद्यालय, कलेज र सरकारी संस्थाका प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रह्यो। “लर्न एन्ड अर्न” कार्यक्रममार्फत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाउनेछन्, जसले शिक्षा र रोजगारी दुवैको विकास सुनिश्चित गर्नेछ।

यस अभियानले सुदूरपश्चिमलाई डिजिटल सशक्त बनाउँदै रोजगारीमुखी, प्रविधिमैत्री र नवप्रवर्तनशील प्रदेशको रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ।