
नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दै साढे दुई लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै प्रतिऔंस ४२०० डलर नाघेको छ। यसअघि प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड रहेको थियो।
नेपालमा असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको उच्च रेकर्ड थियो। सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।





























