
कञ्चनपुरको गड्डाचौकीदेखि अत्तरिया सडक खण्ड स्तरोन्नती गरी चार लेनमा विस्तार गर्न स्थलगत अनुगमन सुरु भएको छ। सडक विभाग र विश्व बैंकको संयुक्त टोली बुधबारदेखि अध्ययनमा जुटेको हो।

सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले भने, “४५ किलोमिटर लामो गड्डाचौकी–अत्तरिया सडक खण्डको चार लेन विस्तारका लागि स्थलगत अनुगमन सुरु गरिएको छ। अब विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने चरणमा प्रवेश गरेका छौं।”
सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालको नेतृत्वमा भएको टोलीले तीन महिनाभित्र परामर्शदाता छनौट गरी डिजाइन काम अघि बढाउने योजना बनाएको छ। यादवका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वमा दुई किलोमिटर सडक चोक क्षेत्रमा स्तरोन्नती गरिएको छ।


अर्जुनप्रसाद अर्यालले कपिलबस्तु–गड्डाचौकी सडक खण्डको बाँकी भाग स्तरोन्नती गर्न एडीबी र विश्व बैंकको सहकार्यमा अध्ययन भइरहेको बताए। अनुगमनपछि डिपिआर तयार गरी काम अघि बढाइने योजना रहेको उनले जानकारी दिए।
यस प्रोजेक्टले पश्चिम नेपालमा यातायात सुधार, सवारी सहजता र सुरक्षा वृद्धि गर्ने विश्वास गरिएको छ।































