
सेर बहादुर बोहरा /बझाङः साईपाल गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा रहे पनि अधिकांश बस्तीमा अझैसम्म फोन नलाग्ने समस्या समाधान हुन सकेको छैन। वडा नं. २ स्थित नाग्ना डाँडाको टावर चालु रहे पनि जिमा, काया, धुली, बलौडी, लाफडी, जगेरा लगायतका बस्तीमा नेटवर्क नपुग्दा स्थानीयवासी निरन्तर समस्यामा परिरहेका छन्।

साईपाल हिमाल क्षेत्रतिर पुग्ने पर्यटकहरू समेत सञ्चार सुविधाको अभावमा जोखिममा पर्न बाध्य छन्। 4G त स्थिर रूपमा कुनै पनि बस्तीमा सञ्चालन हुन सकेको छैन। साधारण कलसमेत गर्न नसक्दा आकस्मिक स्वास्थ्य समस्या, विद्यालय तथा सरकारी कामकाज, आपतकालीन सम्पर्क, परिवारसँग संवाद—सबै क्षेत्रमा स्थानीयले ठूलो कठिनाइ भोगिरहेका छन्।
नेटवर्क नपुग्दा गाउँपालिकाको धेरै काम साईपाल गाउँपालिका कार्यालय काडामा नै अड्किने गरेको छ। नियमित समन्वय तथा प्रशासनिक कामहरूका लागि कर्मचारीहरू सदरमुकाम चैनपुरमै निर्भर हुन बाध्य छन्।
एक कर्मचारीका अनुसार, “हाम्रो रहर होइन, बाध्यता हो। स्थानीयलाई सेवा दिन हामी प्रयासरत छौँ, तर नेटवर्कले बारम्बार धोका दिइरहेको छ,” भन्दै सञ्चार अभावले काम बाधित भएको बताए।
स्थानीयवासी बासि पदिप बोहरा ले भने, “याे प्रविधिको युगमा पनि नेटवर्क नपाउने, सबै सुविधा सदरमुकाम झर्नुपर्ने—हाम्रो दुःख कसैले सुनेको छैन,” भन्दै आक्रोश व्यक्त गर्नुभयो। विद्यालय, स्वास्थ्यचौकी, कार्यक्रमहरूको सूचना आदान–प्रदान तथा नियमित सरकारी पत्राचारसमेत सूचना–प्रणालीमा निर्भर भएकाले काम ठप्पजस्तै हुने गरेको छ।
सञ्चार अभावका कारण अनेकन् समस्या बढिरहेका स्थानीयहरू अन्योलमा छन्। राति आपतकालीन अवस्थामा एम्बुलेन्स वा चिकित्सकलाई बोलाउन नसक्नुले धेरै पटक जोखिम बढेको उनीहरूको अनुभव छ।
यस समस्याप्रति गुनासो उजागर गर्दै गाउपालिका प्रमुख प्रशासकिय अधिकृत र गापा अध्यक्ष हस्ताक्षर र स्थानीय हरुले नेपाल टेलिकम, काठमाडौंमा लिखित रूपमा निवेदनसमेत दिएका छन्। उनीहरूले साईपाललाई प्राथमिकता क्षेत्र घोषणा गरी टावर मर्मत, क्षमता वृद्धि तथा 4G सेवा तुरुन्तै सुचारु गरिदिन माग गरेका छन्। साथै, दक्ष प्राविधिक टोली खटाई सिग्नलको दायरा विस्तार गरी दीर्घकालीन समाधान गर्न आग्रह गरेका छन्।
साईपालबासीका अनुसार— “प्रविधिको युगमा पनि फोन नलाग्नु अत्यन्तै दुःखद र अपमानजनक जस्तै हो। नेपाल टेलिकमले अब ढिलाइ नगरी तुरुन्तै प्रभावकारी कदम चाल्नुपर्छ।”
दुर्गम भए पनि साईपालका हजारौँ जनताले आधारभूत सञ्चार सेवा पाउनुपर्नेमा जोड दिँदै स्थानीयले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।





























