
अत्तरियाः कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै शनिबार बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रदेशका पर्यटकीय सम्भावना, चुनौती र आगामी रणनीतिबारे व्यापक छलफल गरिएको थियो।


कार्यक्रमको अध्यक्षता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले गरे। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी भए।
अन्तरक्रियामा सहभागी विशेषज्ञ, सरोकारवाला र स्थानीय प्रतिनिधिहरूले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक स्थललाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै आधारभूत पूर्वाधार विकास, पर्यटक–मैत्री नीति, स्थानीय तहको समन्वय र निजी क्षेत्रको सक्रिय भूमिका पर्यटन विकासका लागि महत्वपूर्ण हुनेमा सबैको एकमत रह्यो।

चेम्बर अफ कर्मसका प्रदेश अध्यक्ष विनोद मल्लले पर्यटकको सहजीकरणका लागि सरकारले गम्भीरताका साथ काम गर्न जरुरी रहेको बताए । पर्यटकिय क्षेत्रको प्रवद्र्धन, विकास र प्रचारप्रसारमा सबैको सहभागीता र सहयोग अपरीहार्य रहेको उनले बताए । उनले पर्यटकीय क्षेत्रको पुर्वाधार विकाससंगै पर्यटकहरूको लागी आवश्यक पर्ने सबै प्रकारको सुविधाको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
मल्लले अब एआइको युग सुरु भइसकेको अवस्थामा होटल व्यवसायी र पर्यटन व्यवसायीहरु पनि प्रविधिमैत्री बन्नुपर्ने बताए । त्यस्तै महासंघकी केन्द्रिय उपाध्यक्ष धनादेवी चोखालले होटल व्यवसाय र पर्यटन एक अर्काका परिपुरक भएको बताइन् । उनले पर्यटन प्रर्वद्धनका लागि होटल व्यवसायीहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने उनले बताइन् ।
महासंघका सल्लाहकार परमानन्द भण्डारीले प्रदेश सरकारले गर्ने सिपमूलक कार्यक्रमहरु उपलब्धीमूलक हुनुपर्ने बताए । उनले सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना रहेको हुँदा सरकारले नै आवश्यक कदम चाल्नुपर्ने बताए । उनले देशमा बेरोजगारी बढ्दो भए पनि दक्ष जनशक्ति पाउन भने मुस्किल रहेको बताए ।
काममा खटिएका जनशक्तिलाई प्रदान गर्ने ज्यालामा कन्जुसाई नगर्न उनले होटल व्यवसायीहरुलाई आग्रह गरे । त्यस्तै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले सरकारमार्फत गरेका कार्यक्रमको भुक्तानी लिन समस्या झेल्नुपरेको बताए । उनले सबै कागजात तयार गर्दा पनि कर्मचारीहरुले अनेक बाहना बनाएर दुख दिने गरेको गुनासो गरे । होटल व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकरात्मक हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य नरेन्द्र देव भट्टले पर्यटनको विकासका लागि नेपाल पर्यटन बोर्डले कुनै कसर बाँकी नराख्ने बताए । उनले यसै आथिर्क वर्षमा सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना गर्ने गरी कार्य भइरहेको बताए । सुदूरपश्चिमका हिमाल, विभिन्न शक्तिपिठहरुको उचित प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सबै क्षेत्रको पहल आवश्यक रहेको उनले बताए ।
सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन नक्शामा स्थापित गर्न नियमित कार्यक्रम, प्रभावकारी मार्केटिङ र सुरक्षित सेवा प्रणाली आवश्यक रहेको सुझाव पनि प्रस्तुत गरियो।


























