
धनगढी उपमहानगरपालिका–३ ले मोहना नदी किनार आसपासको नदी तटीय क्षेत्र तथा सार्वजनिक जग्गामा भइरहेको निरन्तर अतिक्रमणबारे औपचारिक सूचना जारी गर्दै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।

वडा कार्यालयका अनुसार विभिन्न व्यक्तिहरू तथा समूहहरूले “विभिन्न बहानामा आफ्नो स्वार्थ पूरा गर्न” नदी तटीय क्षेत्र कब्जा गर्ने काम हुँदै आएको छ। सार्वजनिक तथा पर्यावरणीय हिसाबले संवेदनशील क्षेत्रमा भइरहेको यस्तो अतिक्रमण रोक्न कार्यालयले सबैलाई आग्रह गरेको छ।
वडा कार्यालयले अतिक्रमणसम्बन्धी कुनै प्रमाण वा तथ्य भएको खण्डमा प्रमाणसहित कार्यालयमा पेश गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। “अतिक्रमण भएको जग्गा खाली गरी सार्वजनिक रूपमा रहन दिनु अनिवार्य छ,” सूचनामा उल्लेख छ।


कार्यालयले चेतावनी दिंदै भनिएको छ, “यस्ता कार्य तत्काल बन्द नगरे वडा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाउने छ र त्यसपछि उत्पन्न हुने कानुनी तथा प्रशासनिक कारबाहीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षकै हुनेछ।”
वडा कार्यालयले सार्वजनिक सम्पत्ति संरक्षण सबैको साझा दायित्व भएको भन्दै अतिक्रमण रोक्न स्थानीयवासी तथा सरोकारवालाहरूको सहयोग मागेको छ।
































