
सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र योगदानकर्ताको सङ्ख्या देशभर बढ्दै गए पनि सुदूरपश्चिम प्रदेशमा सहभागिता अत्यन्त कम देखिएको छ। कोषका अनुसार सुदूरपश्चिममा रोजगारदाता ४३६ र योगदानकर्ता १०,११८ मात्रै छन्, जुन कर्णाली बाहेक सबै प्रदेशभन्दा न्यून हो।

बागमती प्रदेश सबैभन्दा अगाडि छ, जहाँ रोजगारदाता ९,५८५ र योगदानकर्ता २,०८,५६५ छन्। कोशी, लुम्बिनी र मधेशमा पनि सहभागिता बढ्दै छ। सुदूरपश्चिममा औपचारिक रोजगार कम, भौगोलिक चुनौती, सूचना–प्रविधि पहुँच सीमित र श्रमिकको धेरै भाग अनौपचारिक रोजगारीमा निर्भर हुनु मुख्य कारण हो।

कोषले हालसम्म चार प्रमुख योजना मार्फत १५ अर्ब २९ करोड रूपैयाँ संकलन गरिसकेको छ। आगामी वर्षमा सुदूरपश्चिममा विशेष अभियान, मोबाइल दर्ता सेवा, स्थानीय तहसँग समन्वय र श्रमिक परिचयपत्र वितरण बढाएर सहभागिता विस्तार गर्ने योजना बनाइएको छ। प्रदेशगत असमानता घटाउँदै सबै श्रमिकलाई सुरक्षा र स्वास्थ्य सेवामा जोडिने कोषको लक्ष्य रहेको छ।

































