
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्यवृद्धि गरेको छ। नयाँ मूल्यसूची अनुसार, एक्सएल आकारको अण्डाको प्रतिक्रेट (३० वटा) ५२० रुपैयाँ, ठूलोको ५०५ रुपैयाँ र मिडियमको ४९० रुपैयाँ तोकिएको छ। यसका साथै, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।


संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, भारतमा निर्वाचनका कारण सीमाना कडा भएपछि अवैध रूपमा नेपाली अण्डा भारत जान नदिइएकोले घरेलु बजारमा मूल्य बढेको हो। उनको भनाइमा, “भारतमा अण्डाको मूल्य राम्रो छ। त्यहाँ प्रतिगोटा अण्डा ७.८० भारतीय रुपैयाँ पुगेपछि तस्करी घटेको छ। यसले गर्दा नेपाली किसानले लागत मूल्य पाउन सुरु गरेका छन्।”
संघका सल्लाहकार त्रिलोचन कँडेलको भनाइमा, नेपालमा प्रतिगोटा अण्डाको उत्पादन लागत १६ रुपैयाँ ५७ पैसा पर्छ। हालको मूल्यले किसानलाई फाइदा हुने र जाडो याममा खपत बढ्ने हुँदा माग पनि उच्च रहेको संघले बताएको छ। हाल नेपालमा दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने अनुमान छ।
































