
बुधबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लाग्दै नयाँ दरमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुन बुधबार थप ९०० रुपैयाँले वृद्धि भई २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोवार भयो।

लगातार तीन दिनयता सुनको मूल्यमा आएको वृद्धि बजारमा सक्रियता बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ रहेको थियो। मंगलबार ठूलो वृद्धि भई ५ हजार २०० रुपैयाँले उकालो लागेको सुन बुधबार पनि माथिल्लो दरमै कायम रहँदा सुन कारोबार तथा लगानीकर्ताको चासो थप बढेको देखिन्छ।
सुनसँगै चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार तोलामा ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँले वृद्धि भई बुधबार ३ हजार २२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुन–चाँदी दुवैको मूल्य वृद्धि पछिल्लो केही दिनयताको अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडिएको बताइन्छ।





























