कैलालीको चुरेमा सुन्तला संकट: आधाभन्दा बढी उत्पादन घटेपछि किसान निराश

Image
Nisarga Hospital

चुरे गाउँपालिकामा यस वर्ष सुन्तला उत्पादन उल्लेखनीय रूपमा घटेको छ। सुन्तला उत्पादनका लागि परिचित यस क्षेत्रमा गत वर्ष राम्रो आम्दानी गरेका किसानहरू यसपटक अपेक्षित फल नलागेपछि निराश बनेका छन्। किसानहरूको भनाइ अनुसार उत्पादन आधाभन्दा बढी घटेपछि ठूलो आर्थिक घाटा बेहोर्नु परेको छ।

CP Hospital Dhangadhi

चुरे–२ का कड्किरी, सुवाखान र बसन्तपुर सुन्तला पकेट क्षेत्र मानिन्छन्। तर यो वर्ष बोट सुक्ने, असिना लाग्ने, रोग–कीराको प्रकोप र फल पाक्ने क्रममा औँसा किराको असरका कारण उत्पादन तीव्र रूपमा घटेको किसानहरूको गुनासो छ।

कड्किरीका किसान हुकुम बोहोराका अनुसार फुल फुल्ने समयमा परेको असिनाले बगैचामा ठूलो नोक्सानी भयो। “गत वर्ष २८ क्विन्टल सुन्तला उत्पादन भएको थियो, यो वर्ष भने ९ क्विन्टल मात्रै आयो,” उनले बताए। असिना, रोग र अनियमित मौसमका कारण फल झर्ने समस्या बढेको उनले बताए।

nawajiwan
Attariya Hospital

विसुवाखानका किसान नरबहादुर साउदले अनियमित वर्षा, तापक्रमको उतारचढाव र मल–औषधिको अभावले बगैचा कमजोर बनेको उल्लेख गरे। बसन्तपुरका प्रेम साउदले पहेंलोपाना, फुल झर्ने र किरा लाग्ने समस्याले फलन झनै घटाएको बताए।

उत्पादन घटेपछि सुन्तला खेतीमा निर्भर किसानहरूको आम्दानीमा ठूलो गिरावट आएको छ। मौसम परिवर्तन, रोग–कीराको प्रकोप र कृषि सामग्रीको अभाव यथावत रहे आगामी वर्षहरूमा पनि सुन्तला संकट झनै गहिरिन सक्ने किसानहरूको चिन्ता बढेको छ।