
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो १ बजे भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा मतदान सुरु भई साँझ ७ बजेसम्म चल्नेछ। आयोगले मतदान प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय प्रणाली अपनाएको जनाएको छ।

यसपटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार दुवै नेताबीच कडा टक्कर हुने संकेत देखिएको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने आयोग अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। एक मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन्।
संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ। तीन उपमहासचिव पदमा विभिन्न समूहबाट उम्मेदवारी परेको छ भने नौ सचिव पदमा २० जनाको दाबी छ। केन्द्रीय सदस्यतर्फ विभिन्न भूगोल र क्षेत्रबाट एक हजारभन्दा बढी उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।







































