१६औँ नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड, कृष्णपुरको कञ्चन मावि शान्तिपुरमा भोलिदेखि हुँदै

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित कञ्चन माध्यमिक विद्यालयमा आयोजना हुन लागेको १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। विद्यालय परिसर, खेलमैदान तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा आयोजक समिति, विद्यालय प्रशासन र स्थानीय तहले तीव्रता दिएका छन्।

CP Hospital Dhangadhi

प्रतियोगितामा नगरका २८ विद्यालयका पन्ध्र सय भन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। वडा नम्बर ७ मा यति ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु स्थानीय खेलाडी, विद्यार्थी तथा समुदायका लागि महत्वपूर्ण अवसर भएको सरोकारवालाहरूले बताएका छन्।

वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानाले आफ्नै वडामा राष्ट्रपति रनिङ सिल्ड आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै भने,“यस प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र स्वास्थ्यप्रति सचेत बनाउँछ। भविष्यमा वडा नम्बर ७ लाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ।

nawajiwan

उनले कञ्चन माविको खेलमैदान र पूर्वाधार प्रतियोगिताका लागि उपयुक्त अवस्थामा रहेको जनाउँदै आवश्यक मर्मत, सरसफाइ तथा सुरक्षामा वडाले पूर्ण सहयोग गरेको जानकारी दिए। “बढ्दो चिसोलाई मध्यनजर गर्दै खेलाडीका लागि प्राथमिक उपचार, न्यानो विश्रामस्थल र अन्य आवश्यक व्यवस्थापन गरिएको छ,” उनले बताए।

कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विद्यार्थीको बहुआयामिक विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताइन्।
“खेलकुदले शारीरिक मात्र नभई मानसिक विकासमा समेत ठूलो भूमिका खेल्छ। विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम हुन्,” उनले भनिन्।

आयोजक समितिका अनुसार चिसो मौसमलाई ध्यानमा राख्दै खेल तालिका बिहान ढिलो सुरु गर्ने, खेलबीच पर्याप्त विश्राम दिने व्यवस्था मिलाइएको छ। खेलाडीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी, प्राथमिक उपचार सामग्री र आकस्मिक अवस्थाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा रहनेछ।

Attariya Hospital

मौसम प्रतिकूल भएमा खेल स्थगन वा समय तालिका परिवर्तन गर्ने स्पष्ट मापदण्डसमेत तयार गरिएको आयोजकले जनाएको छ।

कञ्चन मावि तथा कञ्चन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि गैरालले विद्यालयमा प्रतियोगिता आयोजना हुनु गर्वको विषय भएको बताउँदै,“खेलमैदान, दर्शक बस्ने स्थान तथा समग्र व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रयास गरेका छौँ,” भने।

विद्यालयका प्रधानाध्यापक कर्म राज चौधरीले विद्यार्थी तथा दर्शकको सुरक्षा, स्वयंसेवक परिचालन र सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिए।
“खेलाडीका लागि तातोपानी र न्यानो विश्रामस्थलको व्यवस्था गरिएको छ,” उनले बताए।

प्रतियोगितामा विभिन्न एथलेटिक्स तथा टिम खेलहरू समावेश गरिएका छन्। निष्पक्षता सुनिश्चित गर्न मान्यताप्राप्त निर्णायक प्रणाली अपनाइने आयोजकले जनाएको छ। विजेता खेलाडी तथा विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र र सम्मान प्रदान गरिनेछ।

स्थानीय सरकार, विद्यालय र समुदायको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। भोलि पुस ५ गते विहान ८ बजे प्रतियोगिताको उद्घाटन हुनेछ।