
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार साँझ भेटवार्ता भएको छ। सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गरेपछि उनी राजनीतिक गतिविधिमा सक्रिय बन्दै आएका छन्। उच्च अदालत बुटवलबाट शुक्रबार रिहा भएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका हुन्।

रास्वपा स्रोतका अनुसार रवि र बालेनबीच लगातार दुई दिन दुईपटक भेट भएको हो। आइतबार पनि उनीहरूबीच छलफल भएको थियो भने सोमबारको भेट रास्वपा केन्द्रीय सदस्य असीम साहको निवासमा भएको थियो। छलफलमा बालेनका तर्फबाट कुमार बेन र निश्चल बस्नेत सहभागी थिए भने रास्वपाबाट उपसभापति डीपी अर्याल र असीम साह उपस्थित थिए।
भेटमा देशको समसामयिक राजनीति र भावी सहकार्यबारे गहिरो छलफल भएको जनाइएको छ। स्रोतका अनुसार आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावसमेत छलफलमा आएको छ।







































