कृष्णपुरमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन जे.वि. एकेडेमी

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको आयोजनामा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट खेलकुद प्रतियोगिता २०८२ मा श्री जे.वि एकेडेमी, कृष्णपुर–२ प्रथम हुन सफल भएको छ। जे.वि एकेडेमीले प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र २५ कास्य गरी जम्मा ४२ पदक हात पार्दै नगरस्तरीय उपाधि जितेको हो।

CP Hospital Dhangadhi

प्रतियोगितामा कञ्चन माध्यमिक विद्यालय, कृष्णपुर–७ शान्तिपुर ले ९ स्वर्ण, ९ रजत र ९ कास्य पदकसहित जम्मा २७ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ।

nawajiwan

त्यसैगरी, कञ्चनजंगा इङ्गलिस माध्यमिक विद्यालय ले ७ स्वर्ण, ५ रजत र ७ कास्य गरी जम्मा १९ पदक जित्दै तृतीय स्थान हासिल गरेको छ।

नगरपालिकाभित्रका १५ वटा सामुदायिक तथा १३ वटा संस्थागत गरी जम्मा २८ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। विद्यार्थी खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद प्रतिभा प्रस्तुत गरेका थिए।

Attariya Hospital

प्रतियोगिताको समापन समारोह कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको अध्यक्षता मा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा रहनुभएको थियो भने विशिष्ट अतिथिमा ओलम्पियन दिपक विष्ट तथा एन.पि.एल सिजन–२ का खेलाडी अदित्य महता रहनुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, युवाक्लबका प्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा पदक विजेता विद्यालय तथा विद्यार्थी खेलाडीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रमुख अतिथि बोहरा, विशिष्ट अतिथि विष्ट, नगर प्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना लगायतले संयुक्त रूपमा वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै वक्ताहरूले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरमा खेलकुदको विकास, अनुशासन र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

समापन समारोहमा ओलम्पिक खेलाडी दिपक बिष्ट र एनपिएल सिजन २ का खेलाडी आदित्य महतालाई सम्मान गरिएको थियो भने कार्यक्रमको उद्घोषण प्रेम बोगटी र गणेश एसके ले गरेका थिए।