डोटीबाट प्रतिनिधिसभा चुनावको तयारीमा चक्र मल्ल, प्रदेशसभा पदबाट राजीनामाको तयारी

Image
Nisarga Hospital

नेकपा एमालेका केन्द्रीय सदस्य चक्र मल्ल डोटीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। हाल प्रदेशसभा सदस्य रहेका मल्लले चाँडै पदबाट राजीनामा दिएर संघीय संसद् चुनावमा होमिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार पार्टी नेतृत्वले पनि मल्ललाई नै प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अगाडि सार्ने संकेत देखिएको छ।

CP Hospital Dhangadhi

डोटी बहुमुखी क्याम्पसका विभागीय प्रमुख पदबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा सक्रिय भएका मल्ल तीन कार्यकाल एमाले जिल्ला अध्यक्ष भइसकेका छन्। जिल्लामा कुशल संगठनकर्ता र जनआधार बलियो नेताका रूपमा चिनिने मल्लको नाम आइतबार बस्ने एमाले जिल्ला कमिटी बैठकबाट औपचारिक रूपमा सिफारिस गर्ने तयारी छ।

Attariya Hospital

एमाले जिल्ला सचिव पदमराज भट्टका अनुसार मल्लसहित अन्य आकांक्षीहरूको नाम बैठकमा सिफारिस गरिनेछ। २०५० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय मल्ल दुई कार्यकाल अखिल अध्यक्ष, २०५७ सालमा डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति हुँदै पार्टीको जिल्ला नेतृत्वसम्म पुगेका हुन्।

nawajiwan

अघिल्लो प्रदेशसभा निर्वाचनमा डोटी ‘क’ बाट कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका मल्लले १५ हजार २७९ मत प्राप्त गरेका थिए। यसअघि दुई पटक प्रतिनिधिसभाका लागि सिफारिस भए पनि प्रदेशसभा उम्मेदवार बनेका मल्ल यसपटक भने संघीय संसद् प्रवेशको अन्तिम तयारीमा जुटेका छन्।