शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो पूर्ण वैधानिकता, नयाँ नेतृत्वसँगै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा तीव्र गतिमा अघि बढ्ने

Image
Nisarga Hospital

अत्तरियाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले औपचारिक रूपमा पूर्ण वैधानिकता प्राप्त गर्दै नयाँ नेतृत्वसहित शैक्षिक तथा स्वास्थ्य सेवा सञ्चालनको चरणमा प्रवेश गरेको छ। विश्वविद्यालय समिति सदस्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आज आयोजित सिनेट बैठकपछि यसबारे जानकारी गराएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा सम्पन्न २०८२ साल पौष २२ गतेको विश्वविद्यालय सभाको दोस्रो बैठकबाट योग्यता क्रमअनुसार प्रा.डा. सुनिल कुमार जोशी उपकुलपति र डा. खेमराज जोशी रजिष्ट्रार पदमा नियुक्त भएका छन्। नवनियुक्त नेतृत्वलाई आजै बसेको सिनेटको तेस्रो बैठकमार्फत नियुक्ति तथा सपथग्रहण गराइएको भट्टले बताए।

नगर प्रमुख भट्टका अनुसार बैठकमा विश्वविद्यालय सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ। विश्वविद्यालयलाई कसरी अघि बढाउने, सम्भावित चुनौतीहरू, छिटो–छरितो र गुणस्तरीय चिकित्सा शिक्षा सञ्चालन गर्ने रणनीति, ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वतयारी, नयाँ नेतृत्वलाई समयमै सम्पूर्ण जिम्मेवारी हस्तान्तरण तथा शिक्षा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दै विश्वबिद्यालय अनुदान आयोग र मेडिकल काउन्सिल, प्रदेश सरकार लगायत सरोकारवाला निकाय सँग समन्वय गरी देखिन जटिलता समाधान गर्ने विषयहरू बैठकको मुख्य एजेन्डा रहेका थिए।

उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको शिक्षा र स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा विकास हुने विश्वास व्यक्त गर्दै स्थानीय जनता र समग्र प्रदेशका लागि यो ऐतिहासिक उपलब्धि भएको बताए।

यसअघि विश्वविद्यालय सभा सदस्य मनोनित भइसकेका छन् । सभाको पहिलो बैठकले दुई महिलासहित सात जनालाई सदस्यमा मनोनीत गरेको थियो । विश्वविद्यालयहरूको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्तलाई सभा सदस्यमा मनोनीत गरिएको थियो । यस्तै, विज्ञतर्फबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल, प्रा.डा. संगीताराज भण्डारीलाई मनोनीत गरिएको थियो ।

सम्बन्धित समाचार 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन, उपकुलपति र रजिष्ट्रार नियुक्ति