
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलालीको राजनीतिक वातावरण क्रमशः तातिँदै गएको छ। पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामध्ये चार क्षेत्रमा पूर्वमन्त्रीहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका कारण यसपटकको चुनावलाई चासोका साथ हेरिएको छ। विशेषगरी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा कसको बाजी लाग्ला भन्ने विषयले स्थानीयदेखि केन्द्रसम्मको ध्यान तानेको छ।

कैलाली–४ बाट यसअघि फरक–फरक दलबाट निर्वाचन जितिसकेका पूर्वमन्त्री तथा हाल नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फेरि चुनावी मैदानमा छन्। तत्कालीन माओवादीका प्रभावशाली नेता भट्टले २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए। त्यसयता निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका उनी २०७० र २०७९ का निर्वाचनमा भने कांग्रेससँग पराजित भएका थिए।
यसपटकको निर्वाचनमा उनको सामना नयाँ प्रतिस्पर्धीसँग हुँदैछ। २०७९ मा भट्टलाई पराजित गरेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायर यसपटक उम्मेदवार छैनन्। उनको स्थानमा नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य गोरखबहादुर बिष्ट ‘आनन्द’ लाई उम्मेदवार बनाएको छ। लामो समय प्रवासमा रहेर सामाजिक क्षेत्रमा सक्रिय बिष्टलाई कांग्रेसले नयाँ विकल्पका रूपमा अघि सारेको छ।

यद्यपि कांग्रेसको बलियो जनाधार मानिने यो क्षेत्रमा आन्तरिक असमझदारीले असर पार्न सक्ने एमालेको बुझाइ छ। एमाले नेताहरू कांग्रेसभित्रको विभाजनकै कारण भट्टको जित सुनिश्चित हुने दाबी गरिरहेका छन्। तर कांग्रेस पक्ष भने निर्वाचनसम्म सबै शक्ति एकजुट भई पार्टीको विरासत जोगाउने दाबीमा अडिग छ। यसै बिच नेपाली कांग्रेसका उमेदवार अनन्दका अनुसार कांग्रेस एक ढिक्का भएर चुनाबी मैदानमा गै सकेको छ। यहाँ कुनै मतभेद छैन भन्दै टिकट लिदा आएका अप्ठ्यारालाई मिलाई सकेको बताएका छन ।

यता नेकपाका तर्फबाट हरिराम चौधरी पनि बलियो उपस्थितिसहित मैदानमा छन्। लामो समय माओवादी राजनीतिमा सक्रिय उनी पूर्व राष्ट्रियसभा सदस्यसमेत हुन्। चौधरी समुदायको बाहुल्य र संगठनात्मक पकडकै कारण नेकपाले यो क्षेत्र जित्ने दाबी पार्टी नेतृत्वले गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पनि यस निर्वाचनमा उपेक्षित छैन। सांगठनिक संरचना सीमित भए पनि देशभर देखिएको जनलहरले आफूलाई बलियो बनाएको रास्वपाका उम्मेदवार खेमराज कोइरालाको भनाइ छ। उनका अनुसार पार्टीले भित्रभित्रै आधार बनाइसकेको छ, जसको परिणाम मतदान दिन देखिनेछ।
कैलाली–४ मा दुई नगरपालिका र एक गाउँपालिका रहेका छन्। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल १ लाख १५ हजार १ सय ४३ मतदाता रहेका छन्, जसमा पुरुष, महिला र अन्य मतदाताको उल्लेख्य सहभागिता छ। यति ठूलो मतदाता संख्या र बहुपक्षीय प्रतिस्पर्धाका कारण कैलाली–४ को चुनाव परिणाम सबैका लागि निर्णायक बन्ने देखिएको छ।






























