
सुनको मूल्यमा निरन्तर उछाल देखिँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा जनवरी २६ मा सुनको मूल्य पहिलोपटक ५ हजार अमेरिकी डलर प्रति औन्सभन्दा माथि पुगेपछि यसको प्रभाव नेपाली बजारमा पनि स्पष्ट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। एकै दिनमा झन्डै ९ हजार ५०० रुपैयाँले मूल्य बढ्नुले बजार तताएको छ।
त्यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ७ हजार ३०० रुपैयाँ पुगेको छ, जबकि अघिल्लो दिन यसको मूल्य ६ हजार ८७० रुपैयाँ थियो। महासंघका अनुसार हाल कायम भएको सुन र चाँदीको मूल्य नेपाली बजारकै उच्च स्तरमा पुगेको हो।






































