
चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजा प्रभावित पार्ने शैलीमा चुनावी विश्लेषण प्रकाशित गरेको आरोपमा सेतोपाटी अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। आइतबार प्रकाशित सामग्रीमा उम्मेदवारको नाम नै किटान गर्दै ‘जित्नेछन्’ भन्ने दाबी गरिएको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल ले गम्भीर ध्यानाकर्षण जनाएको हो।

काउन्सिलका अनुसार उक्त सामग्री पत्रकार आचारसंहिता, २०७३ (संशोधन २०७६) र निर्वाचन आचारसंहिता, २०८२ विपरीत देखिएकाले आवश्यक प्रक्रिया प्रारम्भ गरिएको छ। यसअघि निर्वाचन आयोग ले समेत कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेको थियो।
काउन्सिलले निष्पक्ष निर्वाचन र मतदाताको विवेकलाई सम्मान गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै भ्रामक, दुष्प्रचारयुक्त वा मतदातालाई प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न सचेत गराएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।







































