
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मध्यपूर्व क्षेत्रमा देखिएको बढ्दो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो। यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर ऐतिहासिक कीर्तिमान कायम गरेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






































