
नेपाल वायु सेवा निगमले आज राति ११:१५ बजे ‘स्पेशल फ्लाइट’ मार्फत दुबईमा रोकिएका यात्रुलाई उद्धार गर्दै स्वदेश फिर्ता ल्याउने जनाएको छ। दुबईबाट आरए २३० (दुबई–काठमाडौँ) बिहान ४:१० बजे काठमाडौं पुग्ने तालिका छ।

अमेरिका–इरान युद्धपछि १२ दिनसम्म रोकिएका यात्रुको उद्धारका लागि पहिलोपटक यस्तो उडान गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो। आज राति २७०–२८० यात्रुलाई प्राथमिकतामा राखेर उद्धार गरिने छ।

स्पेशल फ्लाइटमा २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रु मात्र सहभागी हुन सक्नेछन्। निगमले सबैलाई टिकट पुनः प्रमाणित गराएर यात्रा गर्न अनुरोध गरेको छ। यस उडानले दुबईमा फँसेका नेपालीलाई स्वदेश फर्काउने महत्वपूर्ण कदमको रूपमा लिइएको छ।






























