
कैलाली उद्योग वाणिज्य संघले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार प्रक्रिया अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । बिहीबार संघका अध्यक्ष पुष्करराज ओझाद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई सकारात्मक र स्वागतयोग्य कदमका रूपमा लिएको जनाएको हो ।

संघका अनुसार यस निर्णयले स्वदेशी उद्योग, व्यापार र राजस्व प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । साथै, यसले अवैध आयात नियन्त्रण गर्दै व्यापार प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ ।
संघले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै यसबाट राष्ट्रिय अर्थतन्त्र मजबुत हुने विश्वास व्यक्त गरेको छ । साथै, स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने संघको भनाइ छ ।


यद्यपि, संघले सरकारको यो निर्णय मात्र दीर्घकालीन समाधानका लागि पर्याप्त नभएको भन्दै स्वदेशमै उत्पादन बढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । स्रोत-साधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि र सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने संघको सुझाव छ ।
संघले पारदर्शी र जिम्मेवार व्यापार अभ्यासमार्फत बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण व्यवसायीलाई उपभोक्तालाई गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउन आग्रह गरेको छ । साथै, कैलाली जिल्लाको खुला सीमाका कारण हुने अवैध चोरी निकासी नियन्त्रण गर्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरिएको छ ।





























