
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अनुसन्धानका क्रममा विद्यालयमा १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको हिनामिना भएको पुष्टि भएको आयोगले जनाएको छ।

विद्यालयका लागि खरिद गरिएको भनिएका I3 Dell server, scanner, projector जस्ता सामग्री आपूर्ति नै नगरी झुट्टा बिलमार्फत ४ लाख ८८ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ। साथै ICT तालिम सञ्चालन नगरी २ लाख २० हजार रुपैयाँ खर्च देखाइएको आरोप छ।

यसैगरी, विद्यार्थीबाट उठाइएको शुल्क बैंकमा दाखिला नगरी खर्च गरिएको, वेरुजु फर्छ्यौटको नाममा रकम दुरुपयोग गरिएको र बिना उद्देश्य रकम झिकिएको समेत खुलासा भएको छ।

प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल, लेखापाल ठक बहादुर बुढाथोकीसहित अन्य कर्मचारी, व्यवस्थापन समिति र आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही माग गरिएको छ।





























