
शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको २५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धा, भक्ति र विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने यस पवित्र अवसरले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार लुम्बिनीमा राजा शुद्धोदन र रानी मायादेवीका पुत्र सिद्धार्थ गौतमको जन्म भएको थियो। उनले २९ वर्षको उमेरमा राजसी जीवन त्यागी ज्ञानको खोजीमा निस्केर बोधगयामा ज्ञान प्राप्त गरे र कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। बुद्धका चार आर्यसत्य र अष्टाङ्गिक मार्ग आज पनि विश्वव्यापी रूपमा जीवन मार्गदर्शनका रूपमा स्वीकार गरिन्छ। यस अवसरमा देशका विभिन्न विहार, गुम्बा र बौद्धस्थलहरूमा दीप प्रज्वलन, पूजा–आराधना, भजन–कीर्तन तथा झाँकी प्रदर्शन भइरहेको छ।

यसै दिन किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ पनि देशभर उत्साहपूर्वक मनाइँदैछ। जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस, पशुपन्छी र कृषि चक्रसँग जोडिएको यो पर्वमा प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गरिन्छ। खेतीपाती सुरु गर्ने समय भएकाले भूमिपूजा र प्रकृतिपूजाको विशेष महत्व रहने गर्छ। पर्वको मुख्य आकर्षण साकेला नाच (सिली) ले प्रकृति, ऋतु परिवर्तन र सामाजिक जीवनलाई झल्काउने गर्दछ। विभिन्न स्थानमा भूमिपूजा, पुर्खापूजा र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।

बुद्ध जयन्ती र उभौली पर्वको एकैसाथ उत्सवले शान्ति, प्रकृति संरक्षण र सांस्कृतिक एकताको सन्देशलाई अझ बलियो बनाएको छ।































