
नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्डतर्फ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको हो । सोमबार यही सुन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि उल्लेख्य रूपमा बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३५५ रुपैयाँले महँगिँदै ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक उतारचढाव, अमेरिकी डलरको मजबुती तथा लगानीकर्ताको बहुमूल्य धातुतर्फ बढ्दो आकर्षणका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ । लगातार बढ्दो भाउले सर्वसाधारण उपभोक्ता भने चिन्तित बनेका छन् ।

































