
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा छापावाल सुन प्रतितोला रु ३०० ले बढ्दै रु तीन लाख दुई हजार ५०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले वृद्धि भएर रु पाँच हजार ७४५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो। त्यस्तै, मंगलबार सुनको मूल्य रु तीन लाख दुई हजार ९०० पुगेको थियो भने चाँदी रु पाँच हजार ६९५ मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उच्च रहेको देखिएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ७०० अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।






























