
पर्सा प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। सोमबार प्रतिवेदन बुझाइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत ले दिएका छन्।

प्रसाईंलाई जेठ ४ गते वीरगन्जस्थित एक होटलबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा अभियोग दर्ता गर्न राय दिएको जनाएको छ।

अनुसन्धानका क्रममा विभिन्न युट्युब अन्तर्वार्ता तथा वीरगन्जमा उनले दिएका सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंमाथि महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति तथा राज्यका सुरक्षा निकायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोप छ।

त्यसैगरी, एक अन्तर्वार्तामा उनले बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङ सम्बन्धी टिप्पणी गरेका थिए। यसबीच, सर्वोच्च अदालतले प्रसाईंलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ।
































