
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा विविध परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि लिएर केही स्थानमा वर्षासम्मको अवस्था बनेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने कर्णालीका केही स्थानमा पनि वर्षा देखिएको छ। त्यस्तै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

सोमबारको पूर्वानुमान अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ।

यता कोशीको तराई तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
































