
काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा सोमबार बिहान प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिएको छ। बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि आकस्मिक रूपमा निर्णय गरिएको हो।

समस्या देखिएपछि जहाजलाई सुरक्षित रूपमा पुनः काठमाडौं ल्याएर अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जयकुमारले जानकारी दिएका छन्। उनका अनुसार जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन् र अवस्था सामान्य रहेको छ।

घटनापछि जहाजको प्राविधिक परीक्षण सुरु गरिएको छ। समस्याको कारण पहिचान गर्न प्राविधिक टोली खटाइएको छ। साथै, प्रभावित यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्याउन वैकल्पिक उडानको व्यवस्था मिलाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ।

































