
नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको थियो। यसअनुसार एकै दिनमा सुनको भाउ ५ हजार २ सय रुपैयाँले घटेको हो। यसअघि बुधबार पनि सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घटेको थियो। लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले सस्तो भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ५० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ९ सय ९६ अमेरिकी डलर कायम रहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।






























