
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका अधिकांश निजी पेट्रोल पम्पले इन्धन बिक्री बन्द गरेका छन्। ‘पेट्रोल छैन’ भन्दै सूचना टाँसिएपछि सरकारी तथा सञ्चालनमा रहेका केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।

मूल्य घटेसँगै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको आशंकापछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीनवटा अनुगमन टोली परिचालन गरेको छ। टोलीले पेट्रोल पम्पको स्थलगत निरीक्षण गरी बिना कारण बिक्री बन्द गरेको वा इन्धन वितरण नगरेको पाइए तत्काल सिल गर्ने चेतावनी दिएको छ।

निगमले उपभोक्तालाई कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै आवश्यक इन्धन आपूर्ति पर्याप्त रहेको जनाएको छ।































