
स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा भएको उल्लेख्य मूल्यवृद्धिले सुनचाँदी बजार पुनः तातेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १७९ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। बजारमा मूल्यवृद्धिको क्रम जारी रहेसँगै उपभोक्ता र लगानीकर्ताको चासो पनि बढ्दै गएको छ।
































