
स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार यही सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दै ४ हजार ६०५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा किनबेच भएको थियो।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार एकैदिन ७ हजार २०० रुपैयाँले बढेको थियो। चाँदीको मूल्य पनि बिहीबारको ४ हजार ४५० रुपैयाँबाट शुक्रबार बढेको थियो।

व्यवसायीहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा भइरहेको उतारचढाव, विश्वव्यापी आर्थिक अनिश्चितता र सुरक्षित लगानीका रूपमा सुनको बढ्दो मागका कारण नेपाली बजारमा पनि मूल्यमा निरन्तर परिवर्तन भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस ४ हजार १७४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।
































