काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाइने

Image
Nisarga Hospital

काठमाडौँ: प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले आज सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो । शपथग्रहणपश्चात् उहाँले काउन्सिलमा पदबहाली गर्नुभयो ।

CP Hospital Dhangadhi

अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबिचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताउनुभयो । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसाल, वितरण सम्परीक्षण समितिका सदस्य सन्तोष खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, पत्रकारद्वय उज्ज्वल आचार्य र जन्मदेव जैसी, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित सम्पूर्ण कर्मचारीले स्वागत गर्नुभएको थियो ।

nawajiwan
Attariya Hospital

नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक रहनुभएका श्रेष्ठलाई सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा यही असार २४ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिल अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको थियो । सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामले समेत परिचित उहाँसँग छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशक बढीको कार्यअनुभव रहेको छ ।

वि.सं. २०३३ सालमा जन्मिनुभएका श्रेष्ठले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । श्रेष्ठले नयाँ सडक दैनिक, स्पेसटाइम दैनिक, ‘सिटी टाइम्स’, च्यानल नेपाल, एभिन्युज टेलिभिजन, नागरिकन्युज डटकम, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकममा काम गरिसक्नुभएको छ ।

श्रेष्ठले ६ अप्रिल २००५ देखि नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ सञ्चालनमा ल्याउनुभएको थियो ।
उहाँ सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्य हुनुहुन्छ । श्रेष्ठसँग सीएमआर जर्नालिज्म एकेडेमीमार्फत सञ्चारकर्मीका लागि तथ्याङ्क पत्रकारिता, तथ्यजाँच (फ्याक्ट चेक) र डिजिटल सुरक्षासम्बन्धी तालिम सहजकर्ताको अनुभवसमेत रहेको छ ।