
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरेका छन्। मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै उनले जनताको ज्यान जाने गरी प्रहरीलाई गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे राज्यले स्पष्ट जवाफ दिनुपर्ने बताए।

थापाले अहिले राज्य मात्र होइन, सम्पूर्ण समाजको पनि उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्दै अफवाह, उत्तेजना र प्रतिशोधभन्दा संयमता आवश्यक रहेको बताए। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र बन्धुत्व नेपाली समाजको पहिचान भएकाले कठिन समयमा यही मूल्यलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।

उनले कांग्रेसका नेता–कार्यकर्तासहित सबै नागरिकलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै हिंसा र उत्तेजनाबाट टाढा रहँदै गम्भीरतापूर्वक सोचेर जिम्मेवार व्यवहार गर्न उनले सबैसँग अपिल गरेका छन्।

देवानगञ्जमा दुई समूहबीचको विवाद उग्र बनेपछि कर्फ्यु जारी गरिएको छ। सोमबार प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको अवस्था थप तनावपूर्ण बनेको छ।































