
अत्तरिया: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल महत्त्वपूर्ण छ।

आइतबार क्यानडालाई २४ रनले पराजित गरेपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना कायम छ। तर, ओडीआई मान्यता जोगाउन नेपालले बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
क्यानडाविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले १२७ बलमा ८ चौका र एक छक्कासहित १०१ रनको शतकीय पारी खेले। यो उनको ओडीआई करिअरको तेस्रो शतक हो। गुल्शन झाले ४८ र बसिर अहमदले ३० रन जोडे।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो। नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई विकेट लिए।
जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोडेर तालिकाको छैटौँ स्थानमा पुगेको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ। लिग–२ मा आठ टोली सहभागी छन् भने शीर्ष ६ टोलीले ओडीआई मान्यता जोगाउनेछन्।
नेपालले असोज ३१ गते पुनः क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्ने तालिका छ। यी खेलको नतिजाले नेपालको ओडीआई मान्यता जोगाउने अभियानको टुंगो लगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

































